बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मीविरुद्ध मुद्दा दर्ता

न्युजलय १२ साउन २०७९, बिहिबार ०८:४१ मा प्रकाशित

ओखलढुंगा । १० वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा एक स्वास्थ्यकर्मी विरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ। 

पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले आरोपित सिद्धिचरण नगरपालिका–११ रामबजारका सम्झना श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

उनी ओखलढुंगा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी हुन्। आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। आरोपित श्रेष्ठले २०७९ साउन ७ गते दुई बालबालिका खेल्ने क्रममा भएको समान्य विवादलाई लिएर छिमेकमा डेरा गरी बस्ने १० वर्षीय बालकलाई कुटपिट गरेकी थिइन् । 

कुटपिटबाट बालकको शरीरको विभिन्न भागमा निलडाम रहेको र बान्ता गरिरहने  बालककी आमा विमला बस्नेतले बताइन्। जिल्लामा उपचार नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

आरोपित श्रेष्ठले भने आफूले कुटपिट नगरेको तर, उच्छृंखल भएको सम्झाएको मात्रै बताइन्। उनले उपचार गर्न आफूखुसी काठमाडौं लगेको र बच्चालाई त्यस्तो केही नभएको प्रतिक्रिया दिएकी छन्।

प्रहरीले भने अस्पतालको रिपोर्ट आउन बाँकी रहेको र हाल घटना अनुसन्धानमा रहेका बताएको छ ।