खल्तीको ४० प्रतिशत शेयर वर्ल्डलिंकले किन्यो

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०८:२३ मा प्रकाशित

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले  डिजिटल वालेट ‘खल्ती’को शेयर स्वामित्व किनेको छ । अब खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ ।

नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवामार्फत सुविधा पुर्‍याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ ।

२५ वर्षअघि स्थापना भएको वर्ल्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि ईन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ ।

खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा ईन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पुर्‍याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पुर्‍याउने बताइएको छ ।