झापाकी महिला पाँचथरमा मृत फेला

न्युजलय २८ पुस २०८०, शनिवार ०६:२० मा प्रकाशित

पाँचथर । झापाको बुद्वशान्ति–७ की अभिषेक बिककी श्रीमती इन्दिरा नेपाली पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएकी छन् ।

फिदिम–२ पल्लोटारमा माइत आएकी नेपाली सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा शनिबार बिहान ७ बजे मृत भेटिएकी हुन् ।

आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घर अगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ । सडक छेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।