दोलखाको झुलेमा एकै परिवारका तीन जना मृत फेला

न्युजलय १५ मङ्सिर २०७८, बुधबार ०६:२९ मा प्रकाशित

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । 

बुधबार(आज) बिहान २७ वर्षीय श्याम तामाङ, उनकी २५ वर्षीया श्रीमती अम्बिका र ५ दिने नाबालक छोरा मृत अवस्थामा आफ्नै घरमा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले ५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृत्यु भएको बताएका छन् ।

प्रहरीले भने घटनाको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण थाहा हुने बताएको छ ।

घरमा बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरू मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।