केपी ओली, ईश्वर पोखरेल लगायतका पाँच जना नेताविरुद्ध अख्तियारमा उजुरी

न्युजलय ५ फाल्गुण २०७८, बिहिबार ०७:३९ मा प्रकाशित

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईलगायत पाँच जनाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट अनेरास्ववियुले का बाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गराएका हुन् । 

उनले तत्कालिन प्रधानमन्त्री ओलीले झापाको गिरीबन्धु टि–स्टेटको नाममा रहेको जग्गा सट्टापट्टा गर्न पाउनेगरि नीतिगत भ्रष्टाचार गरेको भन्दै तत्कालिन भूमि व्यवस्थामन्त्री पद्यमा अर्याललगायत भ्रष्टाचारमा संलग्न भएको भन्दै कारबाहीको माग गरेका छन् ।

त्यस्तै, उनले तत्कालिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईमाथि पनि भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् । उनले भट्टराईले भिजिट नेपाल २०२० को प्रचारप्रसारको नाममा करोडौं रकम भ्रष्टाचार गरेको दाबी गरेका छन् ।

त्यस्तै, उजुरकर्ताले ओम्नी ग्रुपसँग मिलेर तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेल र तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा करोडौं रुपैयाँको भ्रष्टाचार गरेको उल्लेख गरेका छन् । र, उनीहरुलाइ पनि कारबाही हुनुपर्ने उनको माग छ ।