इटहरीका एक बालकसहित दुई जनाको पानीमा डुबेर मृत्यु

न्युजलय १३ चैत २०७८, आइतबार ०७:३३ मा प्रकाशित

 इटहरी ।  सुनसरी र ओखलढुंगाका छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । 

सुनसरीको इटहरीमा पाँच वर्षीय बालक र ओखलढुंगामा २५ वर्षिय युवकको डुबेर मृत्यु भएको हो ।

इटहरी–१५  आवाधी मधेसाका बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुबेका थिए ।

उनलाई तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा अन्य बालकहरुसंगै खेल्दै गर्दा चौधरी अचानक पोखरीमा डुबेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् ।

शनिवार बेलुका घरबाट हिँडेका पहाडीको खोजतलास गर्ने क्रममा उनी साँझ पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।