उदयपुरमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

न्युजलय ३० कार्तिक २०८१, शुक्रबार ०५:२३ मा प्रकाशित

उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

उदयपुरगढी गाउँपालिका–१ कोर्सेस्थित भित्री सडकखण्डमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर सडकबाट अन्दाजी ५० मिटरजति तल झर्दा चालक भोजपुरको हतुवागढी गाउँपालिका–२ का अन्दाजी १९ वर्षीय नीरज मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–००२ त ९६१ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सहचालक उदयपुरको ताप्ली गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय रमेश श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।