खोला अतिक्रमणविरुद्ध उपमहानगर : ३५ दिने म्याद सकियो, १५ दिने अर्को सुचना जारी

न्युजलय ४ भदौ २०८०, सोमबार ०२:०८ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिएको छ । उपमहानगरपालिकाले १५ दिने अर्को सुचना प्रकाशन गरेको छ ।


३५ दिनभित्र नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियो । तर त्यसबिचमा कसैले संरचना नभत्काएपछि उपमहानगरपालिकाले फेरी अर्को १५ दिने सुचना जारी गरेको छ । 

टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सुचना प्रकाशन गरेको थियो । 


खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । व्यक्तिका साथै कतिपय संस्थाका भवनहरु खोला पैनी मिचेर बनाइएका छन् भने धेरै ठाउँमा पैनीमाथि स्ल्याब लगाएर हिड्ने बाटो बनाइएको छ ।


खोला पैनी मिचेका संरचना भत्काउने भनेर अघिल्लै पटक मेयर द्वारिकलाल चौधरीले अभियान थालेपनि सफल हुन सकेको थिएन । कोशी राजमार्ग विस्तारका क्रममा घर भत्काउन सफल भएकाले हौसिएका मेयर हेमकर्ण पौडेलले खोलाको अतिक्रमणसमेत हटाएरै छाड्ने बताएका छन् ।