स्थानीय निर्वाचन : वैशाख २९ मा १८ वर्ष पुग्ने २३,८०० ले मत खसाल्न पाउने

न्युजलय २९ चैत २०७८, मङ्गलबार ०२:१२ मा प्रकाशित

काठमाडौं । स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्ने २३ हजार ८ सय जनाले यसपटक मत खसाल्न पाउने भएका छन्। यो व्यवस्था पहिलो पटक गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउँछन्। यसअघि निर्वाचन घोषणाअघि १८ वर्ष पूरा गरेकालाई मात्रै मताधिकार दिइन्थ्यो। 

 

‘नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेका छौं’, प्रवक्ता पौडेलले भने, ‘मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्न पाउने कानुनी व्यवस्था छ।’ 


पौडेलका अनुसार यसपटक वैशाख २९ गतेलाई १८ वर्ष उमेर पूरा गर्ने दिनलाई निर्दिष्ट मिति (कट अफ डेट) मान्दा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार पाएका छन्। यसमा पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५ सय ३० र अन्य १ सय ८३ जना छन्। अघिल्लो निर्वाचनभन्दा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन्।