बंगलादेशबाट काठमाडौं फर्किए नेपाली विद्यार्थी

न्युजलय ६ साउन २०८१, आइतबार ०६:३४ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् ।

आजमात्रै केही विद्यार्थी काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन् ।

सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ ।

बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने यकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनेको छ ।

सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेश अशान्त छ । देशभर कर्फ्यु आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ ।