झापा । बिर्तामोडका दुर्गा प्रसाईं पक्राउ परेसँगै उनका समर्थकले ट्रकमा लगाएको आगोले जलेर दुई जना भारतीय नागरिक घाइते भएका छन् ।
सो उच्छृङ्खल समूहले लगाएको आगोले भारत सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो र भारत इस्लामपुरका ४० वर्षीय पोदा राय घाइते भएका छन् । महतो UP57AT4493 नम्बर र राय WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकका चालक हुन् ।
दुईवटा भारतीय ट्रकमा आगो लगाउँदा सो घटना भएको हो । दुबैजना जलाइएका ट्रकका चालक भएको झापा प्रहरीले जनाएको छ । दाहिना हातको पाखुरामा जलेका महतोको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका रायलाई विएण्डसी अस्पतालमा प्रारम्भिक उपचार पछि भारत पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रसाईंका समर्थकले गएराति कनकाई नगरपालिका–८ को बिरिङ पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको ट्रकमा आगो लगाएका हुन् ।
प्लाइ बनाउने प्रयोग हुने कच्चापदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएको समूह आगजनी गरेर फरार भएको छ । ट्रकमा अगाडिको भाग र सो कच्चापदार्थ जलेको छ ।
आगो बिर्तामोड र दमकल नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको प्रहरी टोली मध्यराति घटनास्थल पुगेको थियो ।
प्रसाईंका समर्थकले आज बिहान बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा ध्द्यठघभ्घण्छट नम्बरको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकमा समूहमा आएका व्यक्तिले आगो लगाएका हुन् ।
ट्रकमा लगाइएको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर छ ।
आगजनीमा सम्लग्नको खोजी भइरहेको तर पक्राउ पर्न नसकेको झापा प्रहरीले जनाएको छ ।
काठमाडौंबाट प्रसाईं पक्राउ पर्ने बितिक्कै उनका समर्थकले झापामा आज चक्काजाम आव्हान गरेका छन् । रातिको समयमा आगजनी र अराजक गतिविधि भएपनि बिहानैदेखि यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।