भोजपुर । भोजपुरको आमचोक गाउँपालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरिएको छ । आइतबार नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)को प्रमुख आतिथ्यतामा आमचोकलाई छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिएको हो । स्थानीयहरुले सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गर्दै अब उप्रान्त छुवाछुत नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अर्थमन्त्री शर्माले गलत संस्कृतिको प्रभावमा परेर मानिसमा विभेद गर्ने छुवाछुत परम्पराको विरुद्ध उत्रिनुपर्ने बताए । उनले आमचोकले गरेको छुवाछूत मुक्त घोषणा कार्यक्रम देशको लागि एउटा सन्देश बनेको उल्लेख गरे । उनले विभेदले समाजको लागि आवश्यक समुदायको योगदानलाई अवमूल्यन गरेको बताए । कानुनले निषेध गरेपनि गलत संस्कृतिको गहिरो प्रभावको अन्त्यको लागि समाजको पहल कदमी आवश्यक रहेको बताए ।
आमचोकको विकास निर्माणको प्रसंग जोड्दै मन्त्री शर्माले विकासमा जनता जोडिनु पर्नेमा जोड दिएका छन् । मन्त्री शर्माले अलपत्र परेका निर्माण योजनाका कामहरु सुरु हुने वातावरण बनाउने प्रतिवद्वता व्यक्त गरे । उनले एक साताभित्र पक्की पुल निर्माण तथा सडकको निर्माण कम्पनी तथा सडक विभागलाई बोलाएर हस्ताक्षर गरेको कागज उपलब्ध गराउने जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अशोक राईले बोल्दै अर्थमन्त्री शर्मा निर्माणाधिन उदयपुर–रानीटार पक्किपुल अलपत्र परेको गुनासो गर्दै निर्माण कार्य सुरु गर्न माग गरेका थिए । यस्तै आमचोकमा स्नातक, स्नातकोत्तर तह सम्म अध्यापनका लागि क्याम्पस निर्माण गर्नुपर्ने, पाङचा– नागी–चखेवा कालो पत्रे सडक निर्माण, आमचोकमा केन्द्रीय विद्युत प्रसारण लाईन विस्तार, बयाङ–डुम्रे–हैखाराङ–चुवार सम्म कालोपत्रे सडक निर्माण, हतुवागढी र मैनामैनी जोड्ने चुवारको पुल तिव्र रुपमा निर्माण लगायत माग उल्लेखित पत्र दिँदै गाउँपालिकाका जनताले भोग्नु परेका समस्या र तिनको समाधानको लागि सरकारको ध्यान जाने विश्वास व्यक्त गरे ।
अध्यक्ष राईले पालिकाको नीति योजनाहरु समाजवाद उन्मुख, गरिब तथा विपन्न वर्ग, किसान मजदुरहरुको पक्षमा बनाउने कोशिश गरिएको हुँदा गाउँपालिकालाई छुवाछूत मुक्त घोषणा गर्न सफल भएको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइराला, संघीय सांसद सुदन किराती, जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राई, शसस्त्र प्रहरी बल भोजपुरका (डिएसपी) दिपक बराल, माओवादी केन्द्रका नेता निर्माण किराती, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गापा उपाध्यक्ष सीता राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।