इटहरी । डा. खगेन्द्र ओली होमियोप्याथी चिकित्साको क्षेत्रमा चिनिएका व्यक्तित्व हुन् । चिकित्सादेखि समाजसेवा अनि लेखनसम्म उनी सक्रिय छन् । इन्खा पोलिक्लिनिकका सञ्चालक डा. ओली आउँदो स्थानीय तहको निर्वाचनमा इटहरी ४ बाट वडाध्यक्षको उम्मेद्वार छन् । उनी नेकपा (एकिकृत समाजवादी)को तर्फबाट वडाध्यक्षको उम्मेद्वार सिफारिसमा परेका छन् । ओलीसँगै चार नम्बर वडाका अध्यक्ष झलक वन, इटहरी सह इञ्चार्ज रमेश खत्री र मनकुमारी राईको नाम नेकपा एसले सिफारिस गरेको छ ।
डाक्टर ओलीले आफु निर्वाचित भए मृगौला, मुटु रोग र क्यान्सर रोगबाट कसैलाई मर्न नदिने दावी गरेका छन् । आफूले स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकता दिने बताउँदै उनले वडाको अन्य पूर्वाधार तथा मानवीय विकासमा पनि लागिपर्ने बताए ।
डा. ओलीले आफूले वडाको विकास नयाँ तरिकाले अघि बढाउने दावी गरेका छन् । विकास जनताको जनजीविकासँग जोडिनुपर्ने र जनताको आर्थिक अवस्था समेत उक्सिने गरी हुनुपर्ने उनको भनाई छ । अरुले गरेको कामलाई आलोचना गर्नेभन्दा पनि राम्रो तरिकाले जनजीविकासँग जोडेर काम गर्ने उनको प्रतिबद्धता छ ।
उनले राजनीतिलाई समाजसेवा बनाउन चाहेको बताए । ‘पैसा त आफ्नो पेशाबाटै कमाइरहेकै छु,’ उनले भने, ‘अब लेखपढ गरेका युवाले देशको नेतृत्व लिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’ डा. ओलीले डाक्टर, इञ्जिनियर, पाइलट, प्राध्यापकहरु राजनीतिमा आउनुपर्ने र त्यस्ता मानिसहरुलाई जनताले पनि साथ दिनुपर्ने बताएका छन् । विकासको पहिलो आधार वडा रहेको बताउँदै उनले वडाको मुहार परिवर्तन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
डाक्टर ओलीले नसर्ने रोग निर्मुल गरेर वडामा मृत्यु दर घटाउने, गरिब समुदायमा निःशुल्क इन्स्योरेन्सको ब्यवस्था गर्ने, बाढिको समस्या समाधान गर्ने, वडामा रहेका दुव्र्यसनीहरुलाई दुव्र्यसनमुक्त बनाएर रोजगारीमा लगाउने, वडामा खुल्ला जिमको व्यवस्था गर्ने, सिपमुलक तालिम प्रदान गरेर दक्ष बनाउने, ५ जनालाई हरेक वर्ष निःशुल्क प्राबिधिक शिक्षाको व्यबस्था गरेर रोजगारी प्रदान गर्ने, बैदेशिक रोजगारीमा जानेका लागि निःशुल्क तालिमको व्यवस्था गर्ने, नागरीक स्तरबाट उत्पादित कृषिजन्य उपज वडाले खरिद गर्ने, कृषि औजारहरु परिचालन गरेर कृषिलाई उत्पादनमुखि बनाउने जस्ता विषयलाई कार्यान्वयनमा ल्याउने योजना रहेको बताए ।