साजीलाल स्थापनाको ५६ वर्ष पुरा, प्रधानाध्यापक सिटौला सम्मानीत

न्युजलय २८ फाल्गुण २०७८, शनिवार ०२:४५ मा प्रकाशित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ६ स्थित साजीलाल माध्यमिक विद्यालयले ५६ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विहीबार र शुक्रबार भवन उद्घाटन, छात्रवृत्ति वितरण, पुरस्कार वितरण, सम्मान लगायत कार्यक्रमका साथै विभिन्न साँस्कृतिक प्रस्तुतीहरुसहित वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा कक्षा ८ सम्म अध्यापन हुँदै आएको गछिया ब्लकमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको थियो । विद्यालयले स्थापना गरेको छात्रावृत्ति वितरणका साथै विभिन्न खेलकुद तथा प्रतिस्पर्धाहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । सो क्रममा साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
विद्यालयको जग्गादाता साजीलाल चौधरीको सालिकमा माल्यार्पण, वार्षिक मुखपत्र विमोचन, विद्यालयको भीडीयो प्रोफाइल प्रदर्शन लगायतका कार्यक्रमसमेत गरिएको छ । विद्यालयले अवकास प्राप्त गर्न लागेका प्रधानाध्यापक कल्याण प्रसाद सिटौलालाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान पनि गरेको छ ।                  
वि.सं. २०२२ सालमा स्थापना भएको साजीलाल माध्यमिक विद्यालयमा हाल २ हजार ८ सय २४ जना विद्यार्थी बाल कक्षा देखि १२ कक्षा सम्म अध्ययनरत छन् । अंग्रेजी माध्यमबाट समेत पठनपाठन हुने विद्यालयमा विज्ञान समूह र सिभिल इन्जिनियरिङको पनि पढाइ हुने गरेको छ । आफ्नै स्वामित्वमा ४८ विगाहा जग्गा रहेको यो विद्यालय प्रदेश १ सरकारबाट वीग स्कूलको रुपमा छनौट भएको विद्यालय हो ।