विपक्षीको नाराबाजीकाबीच प्रधानमन्त्री दाहालले लिए विश्वासको मत

न्युजलय ७ जेठ २०८१, सोमबार ०८:४३ मा प्रकाशित

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।

विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार संविधानको धारा एक सयको उपधारा (२) बमोजिम सभामा चौथो पटक विश्वासको मत लिएका हुन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा एक मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए । 

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरेपनि नकार्दै वेल घेराउसहित प्रतिपक्षीले नाराबाजी गरेपनि नाराबाजीकै बिचमा दाहालले विश्वासको मत लिएका छन् ।