सरकार र चिकित्सकबीच सहमति, डाक्टर पिट्नेलाई तीन वर्षभन्दा बढी सजाय

न्युजलय १४ असोज २०८०, आइतबार ११:०१ मा प्रकाशित

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ । 


शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृहमन्त्रालयमा भएको वार्तमा दुई पक्षबीच छ बुँदे सहमति भएको हो।


स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको हो । स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुमाथि भइरहेको निरन्तर आक्रमणको विरोधमा उत्रेका चिकित्सकहरुले सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलन गरेका थिए । 


गत सोमबार पोखराको मणिपाल अस्पतालमा उपचाररत बिरामीको ज्यान गुमेपछि चिकित्सकहरुलाई आफन्तजनले आक्रमण गरेका थिए। त्यसलगायत पछिल्लो समय विभिन्न स्थानमा भएका चिकित्सकहरुमाथिका हमलाबाट आक्रोशित चिकित्सकहरु आन्दोलनमा उत्रेका थिए।


सहमति पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।


सरकारले घटनामा संलग्नहरुलाई कानुन अनुसार कारबाही गर्ने बताएपनि चिकित्सकहरुले आन्दोलन जारी राखेका थिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपात गरे एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना दुबै सजय हुने व्यवस्था छ ।


स्वास्थ्यकर्मीमाथि बारम्बार भइरहेको कुटपिट तथा दुर्व्यवहारका घटनाको कारक तत्व पत्ता लगाई निराकरणका लागि गर्नुपर्ने नीतिगत र कानुनी सुधारबारे सुझाव दिन १० दिनभित्र अर्को उच्चस्तरीय कार्यदल पनि बनाउने भएको छ । दुबै कार्यदलको प्रतिवदेनको मुल मर्म कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता छ ।

यो सहमतिसँगै स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ ।