‘पूर्वाधार विकासलाई पहिलो प्राथमीकता दियौँ’: नगर प्रमुख खतिवडा

शंकर खत्री १५ चैत २०७८, मङ्गलबार ०४:१० मा प्रकाशित

इटहरी । स्थानीय तह निर्वाचन २०७४’ को पाँच वर्ष पुग्नै लागेको छ । 

निर्वाचन आयोग र सरकारले आगामी वर्ष अर्थात् २०७९ वैशाख ३० गतेका लागि आवधिक निर्वाचनको मिति तोकेको छ । सो निर्वाचनमा मतपरिणाम आफ्नो पक्षमा पार्न राजनैतिक पार्टी तथा व्यक्ति लागिपरेका छन् । 

२०७२ को संविधानको परिकल्पना अनुसार नेपालमा पहिलो पटक संघियताको अभ्यास भयो । अधिकांशले यसलाई सिकाइको रुपमा लिएका छन् । अधिकांशले पूर्वाधार विकासलाई पहिलो प्राथमीकता दिएका छन् । त्यसमा पनि सडक निर्माण, आफ्नै कार्यालय भवन र वडा कार्यालय भवन निर्माणमा स्थानीय तह बढी तल्लिन रहे । 

संखुवासभाको खाँदबारी नगरपालिकाले पनि आफ्नो पाँच वर्षे कार्याकालमा पूर्वाधार विकासलाई पहिलो प्राथमीकता राखेको मेयर मुरारी प्रसाद खतिवडाले जानकारी दिए । पाँच नगरपालिका र पाँच गाउँपालिका गरेर संखुवासभामा दश स्थानीय तह रहेका छन् । खाँदबारी नगरपालिका जिल्लाको सदरमुकाम समेत हो । 

जनताको अपेक्षा पनि पूर्वाधार नै भएकाले नगरपालिकाले पहिलो प्राथमीकता पूर्वाधारलाई बनाएको उनले जानकारी दिए । ‘सबैभन्दा पहिलो विषय चाहिँ हाम्रो पुर्वाधार नै रहयो’, मेयर खतिवडाले भने, ‘जनताका अपेक्षाहरु पूर्वाधार तिर नै केन्द्रित भए । र, हामीले भनेका विषय पनि पूर्वाधारसँगै जोडिएका हुनेले पूर्वाधार पहिलो प्राथमीकता भयो ।’ 

चुनावताका आफ्नो पार्टीले सबै वडा कार्यालय पुग्नलाई बाह्रै महिना चल्ने सडक बनाउने प्रतिवद्धा गरेको तर केहि कठिनाइका कारण पुरा गर्न असमर्थ भएको उनको भनाइ छ । लगभग सबै वडामा आधारभूत तहको स्वास्थ्य सेवा दिने स्वास्थ्य चौकी निर्माण गरेको उनले बताए ।


आफ्नो कार्यकालमा व्यवसायीक र प्राविधिक शिक्षालाई बढी जोड दिएको उनले बताए । सरकारी विद्यालयहरुमा व्यवसायीक र  प्राविधिक शिक्षाको पहुँच वृद्धिका लागि लागिपरेको उनले सुनाए ।

‘शिक्षाको क्षेत्रमा हामीले व्यवसायीक शिक्षा र अहिलेको युग सुहाउँदो इफर्मेसन टेक्नोलोजि (सूचना प्रविधि)को जमानामा टेक्नीकल शिक्षालाई प्राथमीकता दिन्छौँ भनेका थियौँ’, मेयर खतिवडाले भने, ‘हामीले खाँदबारी नगरपालिका भित्र रहेका ४० वटा समुदायीक विद्यालय मध्ये दुई वटामा हामीले प्राविधिक शिक्षा सुरु गर्यौँ ।’ मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटार र महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङमा प्रविधिक शिक्षा सुरु गरेको उनले जानकारी दिएका छन् । 

प्रदेश १ सरकारसँग सहकार्य गरेर बनाउने भनेको ‘बहुप्राविधिक शिक्षालय’ भने अघि बढाउन नसकेको उनले बनाए । पर्यटनलाई तीन भागमा (धार्मीक पर्यटन, पर्यापर्यटन र कृषि पर्यटन) विभाजन गरेर काम गरेको उनले बताए । 

जसका लागि धार्मीक मठमन्दिरको निर्माण, पुरानालाई संरक्षण, संवद्र्धन र विकास गरेको  उनले बताए । यस्तै विभिन्न ठाउँमा पार्क निर्माणलाई पनि प्राथमिकाताका साथ अघि बढाएको उनले जानकारी दिए । 

यस्तै कृषि पर्यटन विकासका लागि पकेट क्षेत्र बनाएर काम गरेको उनले बताए । जनताका समस्यालाई सम्बोधन गर्दै प्रत्येक वडाबाट नै सम्पूर्ण काम गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । कोरोना महामारी, केन्द्र र प्रदेशमा भएको सरकार परिवर्तनले सोचेअनुसार र घोषणा गरेअनुसारको काम गर्न बाधा पुगेको उनले बताए ।