बिबिसि । मोडर्नाले फाइजर र यसको जर्मन साझेदार बायोएनटेकलाई पहिलो काभिड–१९ खोप विकाससँग जोडिएको पेटेन्ट उल्लङ्घनको लागि क्षतिपूर्ति माग्दै मुद्दा हाल्ने बताएको छ ।
अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोना महामारी फैलिनु अघिको आफ्नो एमआरएनए प्रविधिको नक्कल गरिएको आरोप लगाएको छ । परिमाण नखुलाइएको क्षतिपूर्तिको मागसहितको सो मुद्दा मोडर्नाले अमेरिका र जर्मनीका अदालतमा दायर गरेको छ ।
तर, फाइजर कम्पनीले यस कार्यबाट आफूलाई आश्चर्य लागेको र आफूविरुद्ध लगाइएका सम्पूर्ण आरोपको प्रतिवाद गर्ने बताएको छ ।
फाइजरको खोपमा मोडर्ना खोपकै जस्तो भाइरसको बाह्य भागको स्पष्ट चुच्चोमा रहेको प्रोटिन प्रयोग गरिएको भन्ने मोडर्नाको दोश्रो आरोप रहेको छ ।
मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफाने बान्सेलले आफूहरूले सो खोपको अनुसन्धान र विकासमा अर्बौँ अमेरिकी डलर लगानी गरेको बताएका छन् ।