धरानमा बस्तीबीचबाट खोला उत्खनन् गरेपछि बस्ती नै जोखिममा

न्युजलय ९ फाल्गुण २०७८, सोमबार ०१:५७ मा प्रकाशित

धरान । धरान–५ स्थित बस्ती बीचमा रहेको अधेरी खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गरेपछि बस्ती नै जोखिममा परेको छ । धरान उपमहानगरपालिकाले श्रेष्ठ मोतीदान ज्वाइन्ट भेन्चरलाई खोला उत्खनन् गर्न अनुमती दिएपछि वस्ती जोखिममा परेको हो ।


बस्तीको बीचमा रहेको खोलाबाट नगरप्रमुख स्तरीय निर्णयबाट मदन भण्डारी राजमार्ग निर्माणमा प्रयोग हुनेगरी गिटि निकाल्न सम्झौता गरेपछि बस्ती जोखिममा परेको हो । अहिले उत्खनन् भइरहेको क्षेत्रको पश्चिम तर्फ तटबन्धन गरेपनि पूर्व तर्फ खोलाले कटान गर्ने जोखिम छ । स्थानीयबासी अहिले जोखिममा परिन्छ भन्ने त्रास भएपनि बोल्न सक्दैनन् ।  


यसअघि धरान वडा नं. ५ का वडाध्यक्ष सन्तोष लिम्बूले वस्तीभन्दा करिब ४ किलोमिटर दक्षिण क्षेत्रमा खोला उत्खनन् हुँदा विरोध गरेका थिए । उनको नेतृत्वमा वडाबासीको ठूलो भिडले खोला उत्खनन गरिरहेकाहरुलाई जेसिभि तथा ट्रिपरलाई बलपूर्वक फिर्ता पठाएका थिए । तर अहिले बस्तीभित्रै खोला उत्खनन् हुँदा उनले कतै विरोध गरेको देखिएको छैन । 


स्थानीय डम्बर कार्कीका अनुसार बस्तीभन्दा धेरै तल खोला उत्खनन हुँदा पनि वडाबासीले विरोध गरेका थियौ तर अहिले बस्तीबीचमा नै खोला उत्खनन भइरहेको छ । 


अहिले उत्खनन् भइरहेको क्षेत्रको पूर्वतर्फ कुनै तटबन्ध छैन भने पश्चिमतर्फ खेल मैदान बनाउने भनेर आधा खोला नै छेकिएको छ । पूर्वतर्फ करिब २ दशक अघि खोला पसेर खेत बगाएको थियो । अहिले पनि पूर्वतर्फको जग्गा बगर नै छ ।