नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै सबैभन्दा कम

न्युजलय १२ माघ २०७८, बुधबार ०९:१२ मा प्रकाशित

काठमाण्डौ । नेपालमा पछिल्लो १० वर्षमा २६ लाख ९७ हजार ९७६ जनसंख्या बढेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार हाल नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

यसअघि २०६८ सालमा गरिएको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६८ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षको बीचमा १०.१८ प्रतिशतले बढेको पाइएको छ । तर, जनसंख्या वृद्धिदर भने विगत ८० वर्षयताकै कम देखिएको छ ।

विक्रम संवत् १९९८ मा गरिएको चौथो जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर १.१६ प्रतिशत थियो । त्यसअघि भने नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक थियो । १९९८ को जनगणनापछि अहिले जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको छ । २०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । जुन ८० वर्षयताकै कम हो ।