संखुवासभा बस दुर्घटनाः उपचारका क्रममा थप एक जनाको मृत्यु

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०९:०४ मा प्रकाशित

संखुवासभा । मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार(आज) भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । 

उपचारका लागि हेलिकोप्टरबाट धरान लगिएकी मादी नगरपालिका–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी युका पोखरेलको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।