आज देशभर मौसम सफा रहने, भोलि धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०२:३२ मा प्रकाशित

काठमाडौं । आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहे पनि भोलि भने पानी पर्ने मौसमविद्ले बताएका छन् ।


पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिए। उनकाअनुसार भोलि देशभरको मौसम बद्ली हुनेछ भने धेरै ठाउँमा पानी पर्नेछ  ।


सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह पनि छ ।


यस्तै, यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको  सम्भावना पनि रहेको भट्टराईले बताए। भोलि राति पनि देशका धेरै ठाउँमा पानी पर्ने उनले बताए । पर्सि पनि पश्चिमी वायुको असर पर्ने भएकाले वर्षा र हिमपातको सम्भावना छ । तर, पर्सि पानी भने केही कम पर्ने पूर्वानुमान छ ।