घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य केन्द्रमा आँखा तथा कानको निशुल्क परिक्षण शिविर सुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर–२ लुङ्गिन स्थित शिवालय प्राथमिक विद्यालयबाट शुरु भएको आँखा र कानको समस्या पहिचान तथा उपचार सम्बन्धि अभियान आगामी असोज २५ गते सम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य आँखा सुन्दर संसार अभियान अन्तर्गत सञ्चालित शिविरमा आँखा पाकेको, आँखाको सुख्खापन, आँखाको एलर्जी लगायतका समस्याहरु देखिएका परिक्षण स्थलबाट निशुल्क औषधी वितरण गरिनेछ ।
परिक्षणका क्रममा शल्यक्रिया गर्ने किसिमको मोतियाविन्दु भएको पाइएमा प्रत्येक वडाबाट नामावली संकलन पछि शल्यक्रिया शिविर आयोजना गरि निशुल्क उपचार गरिनेछ ।
परिक्षणका क्रममा नजिकको दृष्टिमा आँखाको समस्या देखिएमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारबाट निशुल्क चस्मा प्रदान गरिने विराटनगर आँखा अस्वतालका नेत्र सहायक श्रीनारायण साहले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति संघ भोजपुर शाखा र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा हतुवागढी गाउँपालिकाको व्यवस्थापनमा आयोजित शिविरमा विद्यालयका विद्यार्थी र ४० वर्ष उमेर समूह माथिका नागरिकलाई लक्षित गरिएको छ ।
प्रत्येक वडामा तालिकाबद्ध दुई महिना सम्म सञ्चालन हुने उक्त शिविरमा अन्य जुनसुकै उमेर समुहका नागरिकले पनि परिक्षण गर्न पाउने हतुवागढी गाउँपालिकाले जनाएको छ ।