नेम्वाङको पार्थिव शरीर लगियो बालुवाटार निवासमा

न्युजलय २७ भदौ २०८०, बुधबार ०८:४२ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको बताइएको छ ।  । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । 

मङ्गलबार बिहान हृदयघातका कारणले निधन भएका नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनको पार्थिव शरिर मङ्गलबार दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।  

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ आज काठमाडौं आइपुगेका छन् भने अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ पनि आइसकेका छन् । उनका २ छोरीहरू पनि काठमाडौंमा नै छन्।