भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

न्युजलय ३ पुस २०७८, शनिवार ०८:०० मा प्रकाशित

काठमाण्डौ । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । 

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।  

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताए । 

पार्टीको गत मंसिर ५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार  परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा। रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागिपर्ने जनाउँदै आएका छन् ।