काँग्रेस पनि एमालेजस्तै हुने हो कि भन्ने डर छ; प्रचण्ड

न्युजलय १८ जेठ २०७९, बुधबार ०९:०४ मा प्रकाशित

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् । 

बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको काँग्रेसप्रति यस्तो आशंका व्यक्त गरेका हुन् । 

अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय काँग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताए ।  

उनले गठबन्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै बृहत्तर राष्ट्रिय हितका लागि केही काम गरेपनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गर्ने गरेको सुनाए ।

उनले एमालेसँग पनि गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भएपनि केपी ओलीको अहंकारले त्यो नटिकेको बताए । 

उनले अहंकार र दम्भले कहीं नपुगिने भन्दै राष्ट्र र जनताप्रति इमान्दार बन्न आग्रह गरे । उनले अहंकार र दम्भ आए फेरि विद्रोह गर्ने भन्दै त्यस्तो नहोस् भन्ने अपेक्षा गरेको बताए ।