सवा करोड घुस लिएको आरोपमा कुष्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

न्युजलय ११ पुस २०८०, बुधबार ०८:५८ मा प्रकाशित

काठमाडौं । पोखरा सहकारी ठगी प्रकरणमा रजिष्ट्रार कार्यालयका पूर्वरजिस्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार उनलाई कार्यालयबाट नियन्त्रणमा लिएको हो । 

पर्वतका डीएसपी खुमलाल भुषालका अनुसार  पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए ।  १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।

 त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको पर्वतका डीएसपी भुषालले जानकारी दिए ।  उनी बुधवार कार्यालय गएका थिए । उनलाई आजै कास्की पठाउने बताइएको छ । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । 

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् ।