युवा नेता सुवेदी भन्छन्, ‘युवा नेतृत्व आजको आवश्यकता हो’

न्युजलय १३ बैशाख २०७९, मङ्गलबार १२:५२ मा प्रकाशित

इटहरी । नेकपा एमालेको तर्फबाट इटहरी–३ को वडाध्यक्ष उम्मेद्वारका रुपमा उमेश सुवेदी छानिएका छन् । नेकपा एमाले इटहरी ३ का वडा इञ्चार्ज रहेका सुवेदी एमाले इटहरीको उपमहानगर कमिटिको सचिवालय सदस्य पनि हुन्। 


नेपाली बिषयमा स्नातकोत्तर गरेका ४० बर्षीय सुवेदी २०५१ सालमा अनेरास्वबियुबाट राजनीति क्षेत्रमा प्रारम्भ गरेका थिए । उनले २०५६ सालमा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको इटहरी ३ को अध्यक्ष भएर जिम्मेवारी सम्हालिसकेका छन्।


२०६३ सालमा जनता बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटि अध्यक्ष रहेका सुवेदीले त्यसपछि जिल्ला कमिटि सुनसरीमा सचिवालय सदस्यको रुपमा काम गरेको अनुभव सम्हालेका छन्।


२०६३ असार १६ गते नेकपा एमालेको संगठित सदस्य बनेका सुवेदी नेपाल रेडक्रस सोसाईटीका राष्ट्रिय प्रशिक्षक समेत हुन्। 


नेपाल खेलकुद महासंघको पूर्व केन्द्रिय कमिटि सचिवालय सदस्य रहेका सुवेदी हाल खेलकुद महासंघको केन्द्रिय परिषद सदस्य अनि राष्ट्रिय तेक्वान्दो संघ सुनसरीका बरिष्ठ उपाध्यक्षको रुपमा कृयाशिल छन्।


सुवेदी कबिर माबि इटहरी ६ का निर्बतमान सहायक प्रधानाध्यापक समेत हुन्। नेपाल राष्ट्रिय शिक्षक संगठनका बिभिन्न पदमा रहेर काम गरिसकेका सुवेदी हाल भने नेकपा एमालेको सामुदायीक बिद्यालय शाखाको नगर प्रमुख समेत हुन्।