इटहरी । इटहरी भाषा, साहित्य, कला सिर्जना परिषदले इटहरी लायन्स भवन परिसरमा दुई दिने सिर्जना उत्सव आयोजना गरेको छ । उत्सवको पहिलो दिन आज कलाका विभिन्न बान्कीसहित कविता, गीत, गजल तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
इटहरी नगरपालिकाद्वारा गठित सो परिषदका अध्यक्ष कृष्णविनोद लम्सालको सभापतित्व तथा भाषाविद् प्राध्यापक टङ्क न्यौपानेको मुख्य आतिथ्यमा उत्सवअन्तर्गत पहिलो दिनका गतिविधिहरू सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बम देवान, गायत्री लम्साल, सविता गौतम दाहाल, जेबी थुलुङ, किशोर कोइराला, जिपी तिवारी, जिबी गजल, यात्री शेखर, सानु कार्की, सुमन रेग्मी, विशाल जी अनन्त, विवेक विवश रेग्मी, राज आशातीत, ईश्वर लम्साल, प्रकाश बन्जारा, रञ्जना ढकाल, सानुबाबु बस्नेतलगायत सर्जकले कविता, गीत, गजल प्रस्तुत गरेका थिए ।
कवि टीका आत्रेयले सहजीकरण गरेको सिर्जना उत्सवमा गायकद्वय सञ्जीव धिमाल र मणि गुरुङले प्रस्तुत गरेको गजल गायन तथा गुरुदयाल चौधरीको नेतृत्वमा प्रस्तुत थारु सांस्कृतिक झुम्रा नाचले धेरैको ध्यान खिचेको थियो ।
उत्सव परिसरमा कलाकार अभिषेक तिम्सिनालगायत सर्जकका मूर्तिकला तथा चित्रकला प्रदर्शनी पनि आयोजना गरिएको थियो ।
सिर्जना उत्सव सफलताको शुभकामना दिने क्रममा प्राध्यापक टङ्क न्यौपाने, कवि कुन्ता शर्मा, नागरिक अगुवा राजु केसी, उपमेयर लक्ष्मी गौतमलगायतले मानवीय संशाधनको विकास नभई नगरलाई समृद्ध मान्न नसकिने, साहित्य, कला, संस्कृतिलाई राजनीतिक आँखाले हेर्न नहुने आदि धारणा राखेका थिए ।
उत्सवको दोस्रो दिन भोलि (शनिबार) स्रष्टा–सम्मान, वृत्तचित्र तथा नाटक प्रदर्शन, लोकदोहोरी, नृत्य, पुरस्कार वितरण आदि कार्यक्रम राखिएको छ ।