सुनसरी । धरान उपमहानगरपालिका–४ साराङ्ग चोकबाट अवैध लागूऔषध गाँजा करिब ३७ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका–९ बस्ने २३ वर्षीय तिर्थ दर्जी र सुनसरी बराहक्षेत्र नगरपालिका–१ बस्ने ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग २ च ८११७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीभित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक तिर्थ र कारमा सवार कृष्णलाई पक्राउ गरेको हो ।
यस्तै, उदयपुर, उदयपुरगढी गाउँपालिका–१ धेप्छेबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित ताप्ली गाउँपालिका–१ बस्ने ३६ वर्षीय चित्र बहादुर मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ शिखरपुरबाट बाहुनिटारतर्फ जाँदै गरेका उनलाई गाँजाको भारी फाली भाग्ने क्रममा पक्राउ गरेको हो । साथै हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।