इटहरी गोल्डकप : ट्राइबेकरबाट आयोजक सेमिफाइनलमा प्रवेश

न्युजलय १२ चैत २०८०, सोमबार ०३:४४ मा प्रकाशित

इटहरी । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीमा जारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


आइतबार भारतीय टिम कञ्चनजंघा फुटबल टिमलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश गरेको हो ।


निर्धारित समयमा १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आयोजकले ५ गोल गर्दा कञ्चनजंघाका खेलाडीले गरेको प्रहार राजा क्लबका गोल किप्पर नीरज चौधरीले रोक्न सफल भएका थिए ।


खेलको १३ औं मिनेटमा कञ्चनजंघाका लागि पुजन सुब्बाले र ८४ औं मिनेटमा राजा क्लबका नेपोलियनले गोल गरेका थिए । 


खेलको म्यान अफ दि म्याच राजा क्लबका नेपोलियन घोषित हुँदै नगद १० हजार प्राप्त गरे । शनिबार भएको उद्घाटन खेलबाट साबिक विजेता सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।


राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा भएको गोल्डकपमा भारतको एकसहित आठवटा टिम सहभागी छन् ।


प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ ।


विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउनेछन् ।