३५ लाख लुटेको आरोपमा प्रहरी पक्राउ

न्युजलय २३ जेठ २०७९, सोमबार ०९:४१ मा प्रकाशित

काठमाडौं । लैनचौरमा प्रहरीले व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट गरेको भेटिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन् भने थप दुईजना प्रहरी अधिकारी फरार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

गत ८ जेठमा सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले ती व्यवसायीलाई बोलाएको थियो । तर पैसा लिएर गएका उनी अज्ञात समूहबाट लुटपाटमा परेका थिए । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध (संहिता) को डाँका चोरी सम्बन्धी कसुरमा अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।