मोरङका बेपत्ता युवक खोलामा मृत फेला

न्युजलय १९ असोज २०८१, शनिवार ०६:११ मा प्रकाशित

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सिसौबारीस्थित लोहन्द्रा खोलामा शनिबार बिहान १ जना युवक मृत फेला परेका छन्। 

मोरङ प्रहरीले कटहरी गाउँपालिका–५ का १८ वर्षीय आशिष राजवंशीको शव बिहान फेला परेको जानकारी दिएको छ । 

राजवंशीलाई गत बिहीबार धनपालथान गाउँपालिका–७ बाट लोहन्द्रा खोलाले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता भएको २ दिनपछि शव भेटिएको हो। 

घटनास्थलबाट करिब ४ किलोमिटर तल खोलामै शव फेला परेको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो। प्रहरीका अनुसार स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव भेटिएको हो। 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ।