देशभर मौसम बदली

न्युजलय २ फाल्गुण २०८०, बुधबार ०५:२४ मा प्रकाशित

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर बदली भएको छ । बदली भएसँगै चिसो महसुस पनि भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ ।

सुदूरपश्चिम प्रदेश बाहेक ६ वटै प्रदेशका एक–दुई ठाउँमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको बरिष्ठ मौसमविद वरुण पौडेलले जानकारी दिए । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताए ।

आज रातिबाट आकाश खुल्दै जाने र पश्चिमी भूभागमा भोलि घाम पनि लाग्ने वरिष्ठ मौसमविद पौडेलले बताए । 

आज राति भने कोशी र मधेश प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।