१ हजार रुपैया घुस लिएको आरोप लागेपछि आत्महत्या गरेका खरिदार निर्दोष ठहर

न्युजलय ८ साउन २०७९, आइतबार ०१:२७ मा प्रकाशित

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ हजार रुपैया घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार निर्दोष ठहरिएका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५, कटुन्जे निवासी रामहरि सुवेदीलाई अदालतले सफाइ दिएको हो । ४७ वर्षिय सुवेदीले गत २०७६ साल असोज ६ गते आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरेका थिए ।

काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयमा सेवाग्राहीबाट घुस लिएको आरोपमा उनलाई अख्तियारले २२ साउनमा पक्राउ गरी मुद्धा दर्ता गरेको थियो । अख्तियारले उनलाई ४२ दिन हिरासतमा राखेको थियो । ३१ भदौमा विशेष अदालतले धरौटीमा रिहा गरेपछि अपमान सहन नसकेर आत्महत्या गरेका थिए ।

उनले सफाइ पाउने देखिएपनि उनको मृत्यु भइसकेकोले मुद्धा खारेज हुने निर्णयमा छ ।

उक्त फैसलामा सुवेदीले घुस लिएको भनिएको रकम बरामद नभएको तथा घुस दिने भनिएका व्यक्ति उक्त कार्यालयका सेवाग्राही भए–नभएकोबारे अख्तियारले अभियोगमा केही उल्लेख गर्न नसकेको उल्लेख छ।