काठमाडौँ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । टाइब्रेकरमा एडर मिलिटाओ र डगलस लुइज गोल गर्नबाट चुकेसँगै ब्राजिल क्वाटरफाइनलबाटै घर फर्किएको हो। ब्राजिलका गोलकिपर एलिसनले उरूग्वेका जोश मारिया गिमिनेजको प्रहार रोकेपनि जितका लागि पर्याप्त भएन।
पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्दै उरुग्वेले ब्राजिललाई उपाधि होडबाट बाहिर पुर्याइदिएको हो । निर्धारित समयमा गोलरहित बराबरीको नतिजापछि खेल टाइब्रेकरमा पुगेको थियो ।
७४ औं मिनेटमा नहितन नान्डेज रातो कार्ड खाएर बाहिरिएपछि उरूग्वे दस खेलाडीमा सिमित भएको थियो । त्यसका बाबजुद पनि ब्राजिलले गोल गर्न सकेन।