घोडेटार । भिमदल राई स्मृति प्रतिष्ठान हतुवागढीले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ ।
शुक्रबार श्री सगरमाथा माध्यमिक विद्यालयका प्रधानध्यापक एवं समाजसेवी हेमराज न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न गरिएको हो ।
सभालाई सम्बोधन गर्दै प्रधानध्यापाक न्यौपानेले हतुवागढी क्षेत्रको विकासमा स्वर्गीय भिमदल राइले देखेका सपना र पुर्याएका योगदान अमूल्य रहेको उल्लेख गरे ।
प्रधानध्यापक न्यौपानेले प्रतिष्ठानको विकासको लागि सदस्यता विस्तार र अन्य संघ संस्थाहरु सँग सहकार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा हातुवागढी खेलकुद विकास समिती अध्यक्ष बाल कुमार राई, माओवादी नेता श्याम कुमार राई, एमाले प्रतिनिधि खगेन्द्र बस्नेत, हतुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिना राई लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त प्रथम साधारणसभाको अवसरमा उपस्थित प्रतिष्ठानका आजीवन सदस्यहरुलाई सम्मान पत्र वितरण समेत गरिएको थियो ।
भोजपुरको हतुवागढी–१ घोडेटार स्थित सम्पन्न साधारणसभाबाट तेज बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष तेज बहादुर खालिङ राईको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेकपा एमाले प्रतिनिधि खगेन्द्र बस्नेत, नेपाली कांग्रेस हतुवागढी सभापति एवं हतुवागढी खेलकुद विकास समिति अध्यक्ष बाल कुमार राई, नेकपा माओवादी केन्द्र हतुवागढी अध्यक्ष श्याम कुमार राई, उद्योग वाणिज्य संघ हतुवागढीका प्रतिनिधि प्रलाद थापा, इलाका प्रहरी कार्यलय घोडेटारका प्रहरी सहायक निरीक्षक उपेन्द्र पराजुली लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीका विशिष्ठ समाजसेवी, शिक्षासेवी स्वर्गीय भीमदल राईको २०६८ फागुन ३० गते सवारी दुर्घटनामा परि मृत्यु भएपछि उनको स्मृति र सम्मानमा भीमदल राई स्मृति प्रतिष्ठानको स्थापना भएको हो ।
प्रतिष्ठानले स्थापना काल देखि सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । प्रथम स्मृति दिवसको अवसरमा भिमदल राई स्मृति ग्रन्थको प्रकाशन र विमोचन तथा अन्तर गा।वि।स। स्तरीय खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सम्पन्न गरिएको थियो ।
उक्त प्रतियोगितालाई संस्थागत गर्न र नियमितताको लागि परिवार जनबाट पाँच लाखको अक्षयकोषको स्थापना गरिएको थियो । दोस्रो वर्ष त्यही अक्षयकोषमा पुन पाँच लाख थप गरि अक्षयकोषको रकम १० लाख पुराउने काम भएको थियो ।
स्मृतिको तेस्रो संस्करण सम्म वार्षिक रुपले महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरेतापनी आर्थिक अभाव र विविध जटिलताका कारण २र२ वर्षको अन्तरमा व्यवस्थित र स्तरीय पुरुष फुटबल प्रतियोगिता मात्रै सञ्चालन गर्ने निर्णय भएको हो ।
उक्त निर्णय सँगै भिमदल राई स्मृति हतुवागढी गोल्डकपको छैठौं संस्करण २०७७ सालमा सञ्चालन गर्नु पर्ने व्यवस्था भए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण २०७८ साल पौष १ गते देखि ४ गते सम्म छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकपको आयोजना सम्पन्न गरिएको थियो ।