काठमाडौँ । सरकारले गोबर ग्याँसमा दिँदै आएको अनुदान रकम बढाएको छ । ‘नवीकरणीय ऊर्जा अनुदान नीति (पहिलो संशोधन) २०७८’ स्वीकृत गरेसँगै अनुदान रकम बढेको हो ।
हिमाली जिल्लामा यसअघि २ घनमिटर प्लान्ट क्षमताका लागि २५ हजार, ४ घनमिटर प्लान्ट क्षमताका लागि ३० हजार र ६ घनमिटर वा सोभन्दा बढी प्लान्ट क्षमताका लागि ३५ हजार रुपैयाँ अनुदान सरकारले उपलब्ध गराउँदै आएको थियो । अहिले त्यसलाई बढाएर सरकारले क्रमशः ३२ हजार ५ सय, ३९ हजार र ४५ हजार ५ सय रुपैयाँ बनाएको छ ।
पहाडी जिल्लाहरूमा २ घनमिटर क्षमताको प्लान्टका लागि २६ हजार, ४ घनमिटर क्षमताको प्लान्टका लागि ३२ हजार ५ सय र ६ घनमिटर वा त्योभन्दा माथिको प्लान्टका लागि ३९ हजार रुपैयाँ अनुदान तोकिएको छ । यसअघि ती जिल्लाहरूमा प्लान्टको क्षमताअनुसार क्रमशः २० हजार, २५ हजार र ३० हजार रुपैयाँ अनुदान दिँइदै आएको थियो ।
अब तराईका जिल्लाहरूका गोबर ग्याँस बनाउँदा २ घनमिटर क्षमताको प्लान्टका लागि १९ हजार २ सय, ४ घनमिटर क्षमताको प्लान्टका लागि २४ हजार र ६ घनमिटरभन्दा माथिको प्लान्टका लागि २८ हजार ८ सय रुपैयाँ अनुदान पाइनेछ । यसअघि यस्तो अनुदान क्रमशः १६ हजार, २० हजार र २४ हजार रुपैयाँ बराबर थियो ।
त्यस्तै, नवीकरणीय ऊर्जा अनुदान सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने निकाय पनि यो नीतिमार्फत परिवर्तन गरिएको छ ।