युवा पुस्ताको रोजाइमा धरानको सेँछ एड्भेन्चर पार्क

न्युजलय १९ पुस २०८१, शुक्रबार ०९:०० मा प्रकाशित

धरान । धरान उपमहानगरपालिका २० स्थित चिण्डे डाँडामा पर्छ सेछ एड्भेन्चर एण्ड होलिडेज पार्क । यो पार्क कोशी प्रदेशकै पहिलो एड्भेन्चर पार्क हो । साहसिक खेलमा रुची राख्नेहरु यहाँ पुगिरहन्छन् । एक पटक गएर युवाहरु चित्तै बुझाउँदैनन् । पटक पटक पुगिरहन्छन् ।


धरानबाट ३ किलोमिटर हाइकिङ गर्दै पनि यहाँ पुग्न सकिन्छ भने गाडीमा समेत पुग्न सकिन्छ । पार्कमा जिपलाइन साइक्लिङ, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क आदि छन् । यी खेलहरु रोमाञ्चक भएकोले युवाहरु खेल खेल्नका साथै बनभोजका लागि समुह बाँधेरै यहाँ आउने गर्छन् । खेल नखेल्नेहरु पनि वरपरको प्रकृति हेरेर दंग पर्छन् । सँगै होटलमा खाजा र खाना खान्छन् र रमाउँछन् ।


पहिले उजाड र सुनसान रहेको यो पार्क चार वर्षअघि मात्र निर्माण गरिएको हो । पार्कमा खासगरी जाडो याममा भीड हुन्छ भने गर्मीयाममा पनि पर्यटकहरु पुगिरहन्छन् । पार्कका  निर्देशक बासुदेव बरालले भने, “पर्यटकहरुले निकै रुचाइदिनुभएको छ, हामी उत्साहित भएर अझै नयाँ नयाँ खेल थप गर्ने योजनामा छौं ।”


पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पर्यटक तथा क्याम्पसका विद्यार्थीहरुको आकर्षण बढेको छ । पुर्व भरीका कलेजहरुले आफ्ना विद्यार्थीहरुलाई सामुहिक रुपमै पार्कसम्म पुर्याउने गरेका छन् । विद्यार्थीहरुले साहसिक खेल खेल्दा उनीहरुको सृजनशीलतासमेत बढ्ने शिक्षक बताउँछन् । विद्यार्थीहरुले पनि अन्य पार्कहरुभन्दा यो पार्क विशिष्ट खालको रहेको प्रतिक्रिया दिने गरेका छन् । 


सुरुमा ५ करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कमा हाल केही नयाँ संरचना निर्माण गरिएसँगै लगानी सात करोड पुगेको जनाइएको छ । पार्क अढाई बिघा क्षेत्रफलमा फैलिएको छ ।


पार्कका लगानीकर्ता बराल लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा सक्रिय छन् । उनले धरानमा सेँछ ट्राभल्स र होटलसमेत सञ्चालन गरिरहेका छन् । सेँछ ट्राभल्सले वर्षेनी एक जना पत्रकारलाई पर्यटन क्षेत्रमा कलम चलाएवापत पुरस्कृतसमेत गर्ने गरेको छ । 


‘पर्यटन क्षेत्रको विकासका लागि इनोभेटिभ काम हुनुपर्छ भन्ने मान्यताअनुसार नै हामीले नयाँपन दिनका लागि यो पार्क सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘यस्तो पार्क धरानमा मात्र नभइ पुर्वी नेपालमै पहिलो भएकोले पनि आकर्षण छ, त्यहीअनुसार हामी नयाँ विशेषता थप्ने क्रममा छौं ।’