इटहरी । इटहरीस्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा साइबर अपराध सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ पुस्ताका किशोर किशोरीहरुमा इन्टरनेटको बढ्दो प्रयोग र त्यसबाट हुनसक्ने सम्भावित खतराबारे सचेत गराउने उद्देश्यले मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेका बालबालिकाहरुको समूह ‘मोडर्न बाल क्लब’को आयोजनामा शुक्रबार विद्यालयमा कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल भिम बहादुर श्रेष्ठले बताए ।
प्रिन्सिपल श्रेष्ठका अनुसार विद्यार्थीहरुको आग्रहमा ईलाका प्रहरी कार्यालय इटहरीले कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई ‘साइबर क्राइम’का विषयमा प्रशिक्षण दिएका छन् ।
प्रिन्सिपल श्रेष्ठले साइवर अपराधको जालोमा आफ्ना नानिबाबुहरु नपरुन भनेर सचेत हुनुपर्ने बेला भइसकेको बताउँदै आफ्ना नानीबाबुहरु इन्टरनेट, कम्युटर र मोबाइलमा रमाई रहँदा साइवर अपराधको जालोमा फस्न सक्ने सम्भावनामा भने सतर्क रहनुपर्नेमा जोड दिए ।
त्यसैगरी, विद्यालय संचालक समितिका अध्यक्ष संजिव वाग्लेले नेपालमा बढ्दो साइबर अपराधको खतराको संम्भावनालाई पुष्टि हुने किसिमका विभिन्न घटनाहरुपनि देखा परिसकेको बताउँदै सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेकाले किशोरवयका विद्यार्थीहरुलाई यसबारे सचेतना अत्यावश्यक भएको बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीसँगको समन्वय र बाल क्लबको आयोजनामा विद्यालयमा शक्रबार १२ बजेबाट उक्त कार्यक्रम संचालन भएको थियो ।