एउटै चिन्हमा चुनाव लड्ने दलहरुले आयोगलाई साउन ३१ भित्र जानकारी दिनुपर्ने

न्युजलय २१ साउन २०७९, शनिवार ०१:३० मा प्रकाशित

काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न चाहने दुई वा दुई भन्दा बढी दलले निर्वाचन आयोगलाई अग्रिम जानकारी दिनुपर्ने भएको छ।


गठबन्धन बनाएर चुनावमा जाने पक्कापक्की गरेका दलहरुबीच एउटै चिन्हमा चुनाव लड्नेबारे पनि छलफल भइरहेको छ।

 

विशेष गरी पाँच दलीय गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच समाजवादी केन्द्र बनाएर एउटै चिन्ह लिएर चुनावमा जानेबारे छलफल चलिरहेको छ।


तर उनीहरु केही कानुनी जटिलताका कारण निष्कर्षमा पुग्न सकिरहेका छैनन्। तथापी निर्वाचन आयोगले एउटै चुनाव चिन्ह लिन चाहनेका लागि आइतबारदेखि साउन ३१ गतेभित्र आवेदन दिनुपर्ने सूचना जारी गरेको छ।

 

आयोगले मंसिर ४ गते चुनावमा भाग लिन चाहने पार्टीलाई दल दर्ताका लागि शुक्रबार आह्वान गरेको छ। साउन ३१ गतेसम्म उनीहरुले संघमा लड्ने भए संघ र प्रदेशमा लड्ने भए प्रदेशका लागि आवेदन दिनुपर्नेछ।

 

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ