उर्लाबारी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै पालिकाका मेयर उपमेयरहरु आकांक्षी रहेको जनाउँदै टिकटका लागि दौडधुप गरिरहेका छन् । साथै नगरपालिका, गाउँपालिकाको स्रोत साधनलाई आफ्नो छवि राम्रो बनाउने र आफ्नो प्रचारप्रसार गर्ने काममा खर्चिरहेका छन् । तर मोरंगकोृ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले भने आफूले चढ्दै आएको नगरपालिकाको गाडी नगरपालिकालाई नै बुझाएका छन् ।
नेकपा एमालेका जनप्रतिनिधिहरुले काम गर्न नदिएको भन्दै उनले नैतिकताका आधारमा गाडी बुझाएका हुन् । जनताको काम गर्न अवरोध भएपछि आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई फिर्ता गरेको उनले बताए । कार्यपालिका बैठकबाट विकास योजना अघि बढाउन नसकेकोले नैतिकताको रुपमा अपm्ठ्यारो परेको भन्दै गाडी फिर्ता गरेको उनको भनाई छ ।
गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसेपनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरु नमानेको उनको आरोप छ ।
‘प्रत्येक वडामा तीस लाखका दरले सडक कालोपत्रे साथै अन्य विविध गरी ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेपनि अवरोध भएपछि जनताका काम गर्न नसकेको आधारमा गाडी फिर्ता गरेको हुँँ, मेयर फागोले भने, ‘कार्यपालिकामा बहुमत रहेका नेकपा एमालेका साथीहरुले निर्णय गर्न नदिएपछि विकास रोकिएको छ ।’
उनले काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई पनि मोटरसाइकल फिर्ता गर्न आग्रह गरे । फागोले चैत महिनादेखि आफूले सेवा सुविधा नलिने पनि घोषणा गरेका छन् । उनले आफुसहित सबै जनप्रतिनिधिहरुको सेवा सुविधा भुक्तानी नगर्न लेखा प्रशासनलाई निर्देशन दिएको बताए । ।