ब्राउन सुगरसहित भोजपुरका शेर्पा पक्राउ

न्युजलय २५ माघ २०७८, मङ्गलबार ०६:०६ मा प्रकाशित

काठमाडौं । लागुऔषध ब्राउन सुगरसहित कपनबाट पक्राउ परेका दुई जनाको बयानको आधारमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भोजपुर घर भई काठमाडौंको तार्केश्वर नगरपालिका–११ बस्ने २४ वर्षका मितेन शेर्पा (तेन्जिङ) छन् ।

माघ २४ मा साँझ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले आकाशे धाराबाट २२ वर्षीय पासाङ छिरिङ शेर्पा र २३ वर्षका खगेस खत्रीलाई पक्राउ गरेको थियो । 

शुरुमा पक्रा परेका पासाङ छिरिङबाट प्रहरीले ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । सो ब्राउन सुगर कञ्चनपुर घर भएर बुढानिलकण्ठ नगरपालिका–१० कपनमा बस्ने खत्रीले राख्न दिएको पासाङ छिरिङले बयान दिएका थिए ।

थप कारोबारीको सुराकको आधारमा महानगरीय प्रहरी प्रभाग कपनको टोलीले मितेनलाई  नयाँ बसपार्क स्थित हिलेटोलबाट पक्राउ गरेको हो ।  मितेनको साथबाट १६.८ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

 उनिहरुको साथबाट २ थान डिजिटल तराजु पनि बरामद गरिएको छ । आरोपीहरु बिरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।