रकम नदिए ‘कन्ट्याक्ट किलर’ लगाएर मार्छु भन्दै रकम माग गर्ने डाक्टर पक्राउ

न्युजलय ६ मङ्सिर २०८१, बिहिबार ०७:३४ मा प्रकाशित

काठमाडौँ । ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको ‘अन्डर कभर एजेन्ट’ भएको भन्दै फोन गरी रकम माग गरेको आरोपमा प्रहरीले एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा.आशिष दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

पक्राउ परेका दाहालले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी रु ५० हजारदेखि रु दुई लाखसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौँ स्थित शङ्खमुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।