खराब मौसमका कारण हराइरहेको विमान भेटिएन, अब भोलि खोजिने

न्युजलय १६ जेठ २०७९, सोमबार ०२:५६ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आज दिनभर स्थलमार्ग तथा हवाई मार्गबाट हराइरहेको विमानको खोजी गरिए पनि भेट्न नसकिएको बताएका छन् । खराब मौसमका कारण हराइरहेको विमान खोज्न नसकिएको भन्दै उनले अब भोलि खोज्ने बताए । 


सदनमा बोल्दै उनले खोजतलासका लागि फिस्टेल एयरको हेलिकोप्टरलाई पठाउँदा मौसम खराबीका कारण जोमसोम फर्किएको बताए । सम्भावित स्थलमा हेलिकोप्टर गएको, तर पनि नभेटिएपछि पोखरा र जोमसोममा स्ट्याण्डबाई हेलिकोप्टर राखिएको उनले जानकारी दिए । 


तीनवटा हेलिकोप्टर पोखरामा स्ट्याण्डबाई राखिएको तथा नेपाली सेना र फिस्टेल एयरको २ वटा  हेलिकप्टर जोमसोममा राखिएको उनले बताए । सोमबार बिहानदेखि नै हराइरहेको विमान खोजी गरिने उनले बताए ।


सुरक्षाकर्मीका साथसाथै नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरसहितको टोली पनि त्यहाँ स्ट्याण्डबाई रहेको उनले बताए ।