विराटनगर। मोरङको सुन्दरहरैंचा–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले मंगलबार सडकमै धान रोपेर विरोध जनाएका छन् ।
वर्षाको समयमा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांकेतिक विरोधस्वरूप सडकलाई नै खेत बनाएर रोपाइँ गरेका हुन् ।
स्थानीयले टोलको मुख्य सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि वडा कार्यालयमा मौखिक तथा लिखित रूपमा पटक–पटक अनुरोध गर्दा कुनै पहल नभएको बताए । उनका अनुसार सडकमा हिँडडुल गर्नसमेत कठिन हुने अवस्था छ ।
स्थानीयवासीले सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न वडा कार्यालय र नगरपालिकासँग माग गरेका छन् । उनीहरूले समयमै समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।