इटहरी । इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाले वडास्तरीय साधारणसभा सुरु गरेको छ । आफ्नो २४ औं वार्षिक साधारणसभाअन्तर्गत सोमबार दुर्गा पार्टी प्यालेसमा वडा नं. ४ का आफ्ना सदस्यहरुमाझ साधारणसभा गरेको हो ।
साधारणसभामा प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्य र संविधान सभा सभासद रेवतीरमण भण्डारी, पुर्व प्रदेश सांसद सर्वध्वज साँवालगायतको उपस्थिती रहेको थियो । साथै वडा नं. ४ का नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानसमेत गरेको थियो ।
]
१० हजारभन्दा बढी सदस्य रहेको सहकारीले विभिन्न वडाका सदस्यहरुको फरक फरक समुह बनाइ आगामी ८ दिनसम्म विभिन्न स्थानमा साधारणसभा गर्नेछ । मुख्य साधारणसभा र २५ औं स्थापना दिवस भने आगामी कार्तिक ४ गते दुर्गा पार्टी प्यालेसमै गर्ने संस्थाले जानकारी दिएको छ ।
प्रदेश १ कै ठूलो महिला नेतृत्वको यस सहकारीले विभिन्न ६ वटा सेवा केन्द्रहरु स्थापना गरेकोछ । संस्था सञ्चालनको लागि विभिन्न नीति नियम र कार्यविधिहरु बनाइएको छ ।
कोप कार्ड प्रयोग गर्ने यो नेपालकै पहिलो सहकारी हो भने २०७३ सालदेखि एसियाली ऋण महासंघले दिने स्तरीकरणको प्रमाणपत्र एक्सेसको ब्रोन्ज तहको प्रमाणपत्र निरन्तर रुपमा पाइरहेको छ । नेपालमै पहिलो पटक महिला सहकारीले यो लेभलको प्रमाणपत्र पाएको हो ।