काठमाडौँ। गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ ।
स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।
यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएका थिए। उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो । प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ ।
मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा इजरायली हवाई आक्रमणपछि तीन महिला र छ बालबालिका सहित कम्तीमा १० जनाको शव ल्याइएको अस्पतालको स्रोतले जनाएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० शव पुर्याइएको थियो, जसमा १३ बालबालिका र दुई महिला रहेका थिए ।
त्यसैगरी, मध्य गाजाको अर्को अस्पताल अल–अवदामा ३० वटा शव ल्याइएको छ । तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ । घाइतेहरूको ठूलो भीडका कारण अस्पतालहरूमा उपचारका साधनहरू अभाव भएको चिकित्सकहरूले बताएका छन् ।