काठमाडौं । स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएकोमा २ लाख ८९ हजार ४ सय १ जनाले आवेदन दिएका छन्।
आवेदनको समय शुक्रबार साँझ ५ बजे सकिएको छ। चैत ६ देखि भर्ना आवेदन आह्वान गरिएको थियो। आवेदन भरेकामध्ये ५९ हजार ४ सय ८९ महिला र दुई जना तेस्रो लिङ्गी रहेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए।
चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुनेछन् । उनीहरूले तलबबापत एकमुष्ट ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय, पोसाकबापत ६ हजार र यातायात खर्चबापत एक हजार गरी करिब ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय निर्वाचन वैशाख ३० गते देशभर एकै चरणमा हुँदै छ ।