बीपी प्रतिष्ठानमा १४ वर्षपछि पदोन्नति

न्युजलय १० साउन २०८१, बिहिबार ०७:५२ मा प्रकाशित

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नति गरेको छ । बीपी प्रतिष्ठानमा प्रशासनिक कर्मचारीको १४ र चिकित्सक शिक्षक तर्फ ६ वर्षपछि पदोन्नति गरेको हो ।

भ्रष्टाचार काण्ड, अख्तियारको छापा, मेडिकल उपकरण र भौतिक पूर्वाधार निर्माणमा ठेकेदार कम्पनीहरूको लापरवाही जस्ता बेथितिका कारण १४ वर्षअघि जुन पदमा नियुक्त भएका थिए सोही पदमा कर्मचारीहरू कार्यरत थिए । यसैगरी चिकित्सक शिक्षकहरू ६ वर्षदेखि पुरानै पदमा कार्यरत थिए ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले औपचारिक जानकारी दिँदै  भने , ‘बीपी प्रतिष्ठानलाई चलायमान बनाउन लामो समयदेखि योगदान दिने चिकित्सक शिक्षक र कर्मचारीले पदोन्नतिका लागि दबाब दिन आन्दोलन चलाएका थिए । उनीहरूको जायज माग सम्बोधन गरी पदोन्नति गरिएको छ ।’ 

बीपी प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीको बढुवा ०७९ पुस २० र माघ २५ गते प्रकाशित विज्ञापन अनुसार गरिएको हो । उनकाअनुसार  शिक्षक तथा कर्मचारीहरूको पदोन्नति प्रक्रिया मूल्याङ्कन तथा अन्तर्वार्ताबाट आन्तरिक एक तह बढुवा र स्तर वृद्धि गरिएको हो ।